गणितको विकासले अनुसन्धान र विकासको ढोका खोल्छ, ‘प्रधानमन्त्री’

गणितको विकासले अनुसन्धान र विकासको ढोका खोल्छ, ‘प्रधानमन्त्री’

असोज १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणितको विकासले अनुसन्धान र विकासको ढोका खोल्ने बताउनु भएको छ ।
बिहीबार गणित विज्ञान ट्रष्ट नेपालले आयोजना गरेको गणितिज्ञ गुरु अभिनन्दन तथा रथारोहण समारोहमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘गुरुहरुले आयोजना गरेको यो कार्यक्रम निकै मौलिक र संवेदनशील पनि छ । गणितको विकास निकै महत्वपूर्ण सवाल हो । गणित र विज्ञानको विकासले मात्रै अनुसन्धान र विकासको ढोका खोल्न सक्छ ।’
प्रधानमन्त्रीले भन्नुभयो, ‘यो सम्मान निकै प्रेरणादायी र अनुकरणीय छ । निरन्तर गणितको विकास र अनुसन्धानमा लाग्ने तपाईको साधना र त्याग राजनीतिकर्मीहरुका लागि पनि प्रेरणादायी हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
समारोहमा ७५ वर्ष उमेर पुगेका तथा अनवरत रुपमा ५० वर्ष गणितको अध्यापन र अनुसन्धानमा लागेका गणितिज्ञहरु प्रा.डा. राममान श्रेष्ठ, नृपतिलाल प्रधानाङ्ग, सुम्मा तुलाधर, शिबदत्त पन्त, बुद्धशरण मानन्धर, डा. शंकरराज पन्त, प्रा. सुशीलकुमार श्रेष्ठ, प्रा.डा. मृगेन्द्रलाल सिंह र ओमकारनाथ पन्तलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।