क्रिसमस पर्वका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूको शुभकामना सन्देश

क्रिसमस पर्वका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूको शुभकामना सन्देश

इसाई धर्मावलम्बीहरुको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलूक हो । नेपालको जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको छ । विविधतायुक्त विशेषताले भरिपूर्ण मुलूकका सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्नु र तिनीहरुको प्रवद्र्धन र विकासका लागि अभिभावकीय भूमिका निर्वाह गर्नु राज्यको दायित्व हो । यस अवसरमा सरकार सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै सुदृढ राष्ट्रिय एकताका निम्ति क्रियाशील रहेको तथ्य स्मरण गर्न चाहन्छु ।
जनताको संघर्ष र बीरतापूर्ण बलिदानीबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु, हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु राष्ट्रिय आवश्यकता हो । यसका लागि सरकार सम्वाद र सहमतिका आधारमा उल्लेखित लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको छ । यस अवसरमा सम्पूर्ण ख्रिश्चियन समुदायमा राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न हार्दिक अपील गर्दछु ।
हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् । यस अवसरमा सम्पूर्ण ख्रिश्चियन समुदायमा संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा गर्दै क्रिसमस पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
पौष, २०७३

crismas16