कोरला नाका खुलेपछि पर्वत जिल्ला व्यापारिक हब बन्छ, ‘प्रधानमन्त्री’

कोरला नाका खुलेपछि पर्वत जिल्ला व्यापारिक हब बन्छ, ‘प्रधानमन्त्री’

माघ १३, कुश्मा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरला नाका खुलेपछि पर्वत जिल्ला व्यापारिक ‘हब’ हुने बताउनु भएको छ । बिहीबार पर्वतको कुश्मा बजारमा आयोजित पाँचौं पर्वत महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले पर्वत जिल्ला व्यापारिक ‘हब’ हुने बताउनु भएको हो ।
महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘मानव विकास सूचाकांक र विकासका सम्भावनाका दृष्टिले पर्वत अग्रस्थानमा छ । पर्यटन, धार्मिक पर्यटन, पुल, जलविद्युत लगायतका दृष्टिले पर्वत प्रचुर सम्भावना भएको जिल्ला हो । स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पनि पर्वत अग्रभागमा छ । कोरला नाका खुलेपछि पर्वत जिल्ला व्यापाारिक हव बन्छ । विद्युत उत्पादनका दृष्टिले मोदी र कालीगण्डकी नदी महत्वपूर्ण छ । सरकारले कालीगण्डकी करिडोर प्रशारण आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ । खुर्कोटमा राखिने प्रशारण लाइनले त्यसमा थप योगदान दिनेछ ।’
महोत्सवमा प्रधानमन्त्रीले थप्नुभयो, ‘भूमिगत कालमा पनि म पर्वत आएको थिएँ । पर्वत जिल्लासँग मेरो परिचय नयाँ होइन । तर, औपचारिक कार्यक्रममा म पहिलोपटक आएको छु । तपाईहरुले उठाएका मागहरुबारे सरकार गम्भीर छ । मैले पर्वत जिल्लाको विकासमा केही न केही योगदान गर्न यहाँ आएको हुँ । तपाईहरुले उठाएका मुद्दाहरु सम्बोधन गर्नुपर्छ भन्ने मलाई गहिरो हेक्का छ ।’
पर्वत जिल्लाको विकासमा सरकार सम्वेदनशील रहेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सदरमुकाममा सिटी हल बनाउन सरकारको तर्फबाट सहयोग हुन्छ । जिल्लाको गौरवको आयोजना मानिएको कुश्मा, फलेबास, हुवास मोटरबाटो कालेपत्रेले तिब्रता पाउनेछ । खेलकूद मैदानको आवश्यकताबारे तपाईहरुले उठाएको मुद्दा पनि सम्वेदनशील छ । सशस्त्र प्रहरीको क्याम्पको व्यवस्थापन गरेर खेलकूद मैदान निर्माण गरिनेछ । लप्सीको जिल्ला भनेर चिनिने पर्वतका लागि प्रशोधन केन्द्र र कोल्ड स्टोर निर्माणमा सरकारको तर्फबाट पुरै सहयोग हुनेछ ।’
सरकारले विकास र आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्रीले थप्नुभयो, ‘योपटक पदभार ग्रहण गरेपश्चात् राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न विशेष जोड गरिएको छ । लोडसेडिङ अन्त्यका लागि धेरै मेहेनत गरिएको छ । विकासका सम्भावनाहरुलाई यथार्थतामा बदल्न सरकार प्रयत्नशील छ । यसपटक देशका चारै कुनाका विकास आयोजनाहरुको अनुगमन र निरीक्षण गरिरहेको छु । संविधानले व्यवस्था गरेको समाजवादउन्मूख राज्यको आधारका लागि आर्थिक समृद्धि र जनताको जीवनमा परिवर्तन आउन जरुरी छ । मैले विकासका लागि छिमेकीहरुसँग पनि कुटनीतिक पहल गरिरहेको छु । जलविद्युत, मेघा आयोजना, कनेक्टिभिटी र पर्यटनमा हामीले ठूलो उपलब्धि हासिल गर्न सक्छौं । हामीले पूर्वाधार निर्माण गर्न सक्यौं भने विकास र पर्यटनमा ठूलो फड्को हान्न सम्भव छ ।’
समसामयिक राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार संविधान कार्यान्वयनमा गम्भीर छ । आउने माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्ने संकल्पमा हामी छौं । निर्वाचन गरिएन भने देशमा राजनीतिक संकट आउन सक्छ । त्यसका लागि राजनीतिक समझदारीको कोशिस गरिरहेको छु । संविधानको स्वीकार्यतामा सहमत गराएर निर्वाचनमा लैजान निरन्तर प्रयत्नमा छु । विद्येयकहरु पारित नगरी निर्वाचनको मिति घोषणा गर्नु राम्रो हुँदैन । निर्वाचनको मिति घोषणा गरेपछि त्यो कार्यान्वयन हुनैपर्छ । म कार्यान्वयन हुने निर्वाचनको पक्षमा छु र निर्वाचन गर्न आतुर छु ।’
महोत्सवमा सांसदहरु अर्जुनप्रसाद जोशी, बिकास लम्साल, कल्पना चापागाई लगायतका वक्ताहरुले पर्वत जिल्लाको विकासका यथेष्ट ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव १० दिनसम्म चल्ने संघका अध्यक्ष हरिओम शर्माले जानकारी दिनुभयो ।