कसैलाई निषेध होइन, सबैलाई समेट्न सरकार लागेको छ : प्रधानमन्त्री

कसैलाई निषेध होइन, सबैलाई समेट्न सरकार लागेको छ : प्रधानमन्त्री

मंसिर ९, सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कसैलाई निषेध गरेर होइन, सबैलाई समेटेर राष्ट्रिय एकता बलियो बनाउन सरकार लागिपरेको बताउनु भएको छ ।
सिन्धुलीको कल्पबृक्षमा बिहिवार दिउसो आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएके हो । प्रधानमन्त्रीले भन्नुभयो– ‘संविधान कार्यान्वयन गर्नु र तीन तहको निर्वाचन समयमै पूरा गर्नु सरकारको प्रमुख राजनीतिक कार्यभार हो । यसमा राष्ट्रिय राजनीतिक शक्तिबीच एकताका लागि पहल भइरहेको छ । देशभित्रका कसैलाई निषेध गरेर होइन, सबैलाई सम्मान र एकतावद्ध गरेर मात्रै राष्ट्रिय एकता मजबूद बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ ।’
सो अवसरमा प्रधानमन्त्रीले सिन्धुली जिल्लाको समग्र विकासका निम्ति आफ्नो ध्यान गएको वताउँदै सिन्धुलीमा सडक, पुल, खानेपानी, जलविद्युत, सिंचाई, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका लागि पर्याप्त वजेटको व्यवस्था गरिने वताउनु भयो । उहाँले गरिवका लागि सरकार, जनता पेन्सन, युवा स्वरोजगार जस्ता कार्यक्रम एवम् ठूला परियोजनाहरुको सफल कार्यान्वयनका लागि आफै पहलकदमी लिइरहेको वताउनु भयो ।
सिन्धुलीसहित सबै जिल्लाका भुकम्प पीडितलाई तत्काल राहत दिइने वताउँदै प्रधानमन्त्रीले सिन्धुली जिल्लाका राजनीतिक दलहरुले संयुक्तरुपमा पेश गरेका जायज माग पूरा गर्ने वताउनु भयो ।
नेकपा (माओवादी केन्द्र) को आयोजनामा भएको सो जनसभामा माओवादी केन्द्रका नेता एवम् सांसद हरिवोल गजुरेल, पूर्व सांसद निरु दर्लामी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मासहित विभिन्न वक्ताहरुले बोल्नुभएको थियो ।