कसिएका गाँठा फुकाउने संकल्पसहित आएको छु, ‘प्रधानमन्त्री’

कसिएका गाँठा फुकाउने संकल्पसहित आएको छु, ‘प्रधानमन्त्री’

असोज १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको विकास, समृद्धि र प्रगतिका बाधकका रुपमा कसिएका गाँठा फुकाउने संकल्प सहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आएको बताउनु भएको छ ।
शुक्रबार पूर्वाञ्चल विश्विद्यालयसँग सरोकार राख्ने बुद्धिजीवीहरुसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘अघिल्लो कार्यकालमा चाहेर पनि समस्याका धेरै गाँठा फुकाउन सकिएन । मैले पहल गरेर हुन्छ भने यसपालि धेरै गाँठा फुकाउने चाहना र संकल्पसहित आएको छु । देशको विकास, समृद्धि र प्रगतिका लागि समस्या धेरै गाँठा फुकाउने संकल्प छ, हेरौं कति फुक्छन् ।’
प्रधानमन्त्रीले पूर्वाञ्चल विश्वविद्यालय नेपालको पुरानो र स्थापित विश्वविद्यालय भएको स्मरण गर्दै प्राज्ञिक र प्रशासनिक नेतृत्वको सवलता र इमान्दारिताले मात्रै प्राज्ञिक क्षेत्रको विकास हुने बताउनुभयो । भेटमा प्रधानमन्त्रीले सबै प्रदेशमा सरकारी प्रयासबाटै मेडिकल कलेज बनाउने सरकारको संकल्प रहेको जानकारी पनि दिनुभयो ।
भेटमा बुद्धिजीवीहरुको सर्वदलीय समूहले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज र शिक्षण अस्पताल स्थापना गर्न, कलेजका केन्द्रीय प्रशासनिक निकायहरु मोरङको गुडगाउँमा स्थानान्तरणको व्यवस्था गर्न, पूर्वाञ्चल विश्वविद्यालयलाई पूर्ण सरकारी लगानीमा सञ्चालन गर्न र विश्वविद्यालयको आय–व्यय महालेखा नियन्त्रकको कार्यालयबाटै लेखा परीक्षण गर्ने व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।