‘आरुघाटको स्मृति राजनीतिक जीवनमा उर्जा’ – प्रधानमन्त्री

‘आरुघाटको स्मृति राजनीतिक जीवनमा उर्जा’ – प्रधानमन्त्री

भदौ ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३/२४ वर्षको उमेरमा आरुघाटको बसाई र अध्यापनले आफ्नो राजनीतिक जीवनमा सधैं उर्जाको काम गरिरहेको बताउनु भएको छ ।
शनिबार बिहान आरुघाटबासीको सामूहिक बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले आरुघाटको बसाई निकै पवित्र, आत्मीय र उर्जापूर्ण भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘२३/२४ वर्षको उमेरमा आरुघाटमा अढाई÷तीन वर्ष अध्यापन गरें । त्यो बसाई मेरो राजनीतिक जीवनमा सधैं उर्जाको स्रोत बनिरह्यो । जीवनमा जुनकुनै उतारचढावमा पनि तपाईहरुसँग बिताएका दिनहरु कहिल्यै बिस्मृतिमा गएनन् ।’
उहाँले आफू दोस्रोपटक जोखिमपूर्ण अवसरका रुपमा प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै आफ्नो कार्यकाल उपलब्धिपूर्ण कामका लागि खर्चने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘जोखिमपूर्ण अवसरका रुपमा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको छु । यो कार्यकाललाई उपलब्धिमूलक र परिणाममूखी बनाउने संकल्प गरेको छु ।’
प्रधानमन्त्रीले गोरखा आरुघाटबासीले उठाएका मागमा आफू संवेदनशील भएको भन्दै आफ्नो तर्फबाट सक्ने सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । भेटमा आरुघाटबासीले प्रधानमन्त्रीलाई बधाई र सम्मान गर्नुका साथै भूकम्पको शिघ्र पूनर्निर्माण गर्न, बुढीगण्डकी जलविद्युत आयोजनालाई प्राथमिकतामा राख्न, आयोजनाका कारण डुवानमा परेका र पर्नसक्ने बस्तीहरुको उचित व्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।