आफैले गरेका संकल्प र बनाएका योजना कार्यान्वयन गरौं, ‘प्रधानमन्त्री’

आफैले गरेका संकल्प र बनाएका योजना कार्यान्वयन गरौं, ‘प्रधानमन्त्री’

भदौ ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैले गरेका संकल्प र बनाएका योजना मात्रै कार्यान्वयन गर्ने हो भने पनि देशमा सुशासन र आर्थिक समृद्धिको जग बस्ने बताउनुभएको छ ।
आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयको दशौं स्थापना दिवस तथा वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी विश्लेषण राम्रै गर्छाैं, निष्कर्ष राम्रै निकाल्छौं । निर्णय पनि राम्रो हुन्छ । तर, परिणाम त्यससँग तालमेल मिलेको हुँदैन । राज्यका सबै संयन्त्रको अन्तिम गोल राष्ट्रको विकास र प्रगति नै हो । हामी आफैले गरेका संकल्प र बनाएका योजना मात्रै प्रभावकारी ढंगले कार्यान्वयन गर्न सक्ने हो भने पनि देशमा सुशासन र समृद्धिको जग बस्न सक्छ ।’
सो अवसरमा प्रधानमन्त्रीले विकास निर्माण र सार्वजनिक सेवाका क्षेत्रमा जनताको तहबाट गरिएका गुनासा र टिकाटिप्पणीलाई गम्भीरतापूर्वक लिन निर्देशन दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नागरिक तहबाट हुने आलोचना र टिप्पणीलाई चनाखो भएर हेर्न जरुरी छ । गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ । हाम्रा गलत संस्कार र बेथितिहरु अहिले पनि कायमै छन् । हाम्रा कामहरु हिजोको भन्दा गुणस्तर, पारदर्शी र समयमै सम्पन्न हुन्छन् कि हुँदैनन्, यसमा जिम्मेवार भएर समीक्षा गर्न जरुरी छ ।’
प्रधानमन्त्रीले सरकार आफ्नो प्राथमिकता किटान गरेर अगाडि बढेको जानकारी गराउँदै त्यसलाई गम्भीरतापूर्वक लिन र परिणाम निकाल्न निर्देशन गर्नुभयो । समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गुणस्तरीय काम समयमै सम्पन्न गर्नु अहिलेको मूख्य चुनौति भएको भन्दै त्यसका लागि जिम्मेवार भएर लाग्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
समारोहमा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका लगायतका वक्ताहरुले सार्वजनिक खरिद प्रक्रिया पारदर्शी, द्रुत र गुणस्तरीय बनाएर सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सकिनेमा जोड दिनुभएको थियो ।

प्रधानमन्त्रीले व्यक्त गर्नुभएको सम्बोधनका मूख्य बुंदाहरु
– आफैले निकालेका निष्कर्ष र बनाएका योजनाहरुको कार्यान्वयनका लागि शुभकामना दिन चाहन्छु । हामी विश्लेषण राम्रै गर्छाैं, निष्कर्ष राम्रै निकाल्छौं । निर्णय पनि राम्रो हुन्छ । तर, परिणाम त्यससँग तालमेल मिलेको हुँदैन । राज्यका सबै संयन्त्रको अन्तिम गोल राष्ट्रको विकास र प्रगति नै हो । हाम्रा विकासका आयोजनाहरुले समाजलाई आत्मगौरवको स्थिति सिर्जना गर्न सकेनौं भने ती कागजी हुने खतरा हुन्छ ।
– नागरिक तहबाट हुने आलोचना र टिप्पणीलाई चनाखो भएर हेर्न जरुरी छ । हामीले हाम्रो कार्यप्रणाली र परिणामबारे गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ । हाम्रा गलत संस्कार र बेथितिहरु अहिले पनि कायमै छन् । हाम्रा कामहरु हिजोको भन्दा गुणस्तर, पारदर्शी र समयमै सम्पन्न हुन्छन् कि हुँदैनन् ? यो मूख्य कुरा हो । यसको गम्भीर समीक्षा गरौं र प्रभावकारी कामका लागि संकल्प गरौं ।
– नयाँ सरकार केही नयाँ संकल्पसहित अगाडि बढ्ने जमर्को गरेको छ । सुशासन कसरी कायम गर्ने, अपारदर्शिता कसरी अन्त्य गर्ने, बेथिति र ढिलासुस्ती कसरी अन्त्य गर्ने, प्रभावकारी सेवा कसरी दिने ? यसबारे गम्भीरतापूर्वक सोचेर अगाडि जान खोजेका छौं । सरकार सुशासनको सवालमा दृढतापूर्वक अगाडि बढ्छ ।
– पूनर्निर्माणका लागि पनि सार्वजनिक खरिद प्रभावकारी बनाउन अत्यावश्यक छ । नीति, नियम, नियमावलीले सुशासन र समृद्धिको जग बसाउन कहाँ बाधा उत्पन्न गरेको छ ? त्यस्तो नीति, नियममा रहेका सीमाहरु संशोधन गर्न सरकार तयार छ । तर, परिणाम आउने गरी प्रभावकारी कार्य सम्पादन हुनैपर्दछ ।
– सार्वजनिक र नीजि क्षेत्रको बीचमा नयाँ साझेदारी र अध्याय थप्नुछ । एकअर्काका समस्या बुझेर नीतिगत समस्या हल गर्नुपर्छ । यसका लागि सरकार साझेदारी गर्न तयार छ । तर, नीजि क्षेत्र पनि राष्ट्र निर्माणमा जिम्मेवार ढंगले प्रस्तुत हुनेछ भन्ने सरकारको अपेक्षा छ ।
– अहिलेको विश्व विकास र समृद्धिको युग हो । हिजो कहिले धर्म, कहिले युद्ध, कहिले दार्शनिक बहसले दुनियाँलाई लपेट्ने गरेको थियो । तर, आजको विश्व प्रविधि, विकास र समृद्धिले लपेटिएको छ । विकास र समृद्धिलाई गति दिन सक्दा मात्र राज्य र समाजको औचित्य पुष्टि गर्न सक्छौं । विकास प्रक्रिया र आर्थिक गतिविधिद्धारा नै हाम्रो मापन र मूल्याङ्कन हुन्छ भन्नेमा हामी स्पष्ट हुनैपर्दछ ।
– देशको औचित्य पुष्टि गर्न, प्रतिस्पर्धाद्धारा योजनाहरुको औचित्य पुष्टि गर्न, जनताका आकांक्षाहरुको सम्बोधन गर्न हामी गम्भीर बन्नैपर्छ । राष्ट्र निर्माणको संकल्पमा हाम्रा नीति, नियमहरु कमि र अपूर्ण छन् भने त्यसलाई बदलौं । तर, परिणाममूखी काम गरौं ।
– सरकार संविधानको स्वीकार्यता बढाएर संविधान कार्यान्वयन गर्ने प्रक्रियामा छ, यसको प्रारम्भ भइसकेको छ । पूनर्निर्माणलाई प्रभावकारी बनाउनु राज्यको अर्को दायित्व हो । सुशासन जनताको महत्वपूर्ण आकांक्षा हो । राज्य र प्रशासन संयन्त्रमा बस्नेहरुले यसलाई नबुझ्ने हो भने जनतामा एउटा ठूलो असन्तुष्टि सिर्जना हुन सक्छ । हामी सबै जोखिमपूर्ण अवसरमा छौं । यसलाई हामीले अवसरमा बदलौं । त्यसका लागि हामी आफैले निर्धारण गरेका लक्ष्यहरुलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने संकल्प गरौं ।
– सरकारले निर्देशन गरेबमोजिम सचिवज्यूहरुबाट कार्ययोजना प्राप्त भएको छ, हामी त्यसको गम्भीर अध्ययन गरी ठोस योजना बनाएर अघि बढ्छौं । राष्ट्र निर्माणका लागि हदैसम्मको कठोर र गम्भीर भएर अगाडि जाने सोचेका छौं । त्यसमा तपाईहरु पनि भौतिक र मनोवैज्ञानिक रुपमा तयार रहनुहोला ।